रोटरी क्लबको पिकनिक तथा धार्मिक–सांस्कृतिक यात्रा
पहिलो दिन : एक मिठो यात्रा–संस्मरण
चैत्र २१ गतेको त्यो बिहान अझै मनमा ताजै छ—हल्का उत्साह, केही हतार, र मनभरी रमाइलोको अपेक्षा। रोटरी क्लब अफ डिल्लिबजारको आयोजनामा दुई दिने पिकनिक तथा धार्मिक–सांस्कृतिक यात्राको सुरुवात हुँदै थियो। यात्रा केवल गन्तव्यसम्म पुग्ने मात्र थिएन, त्यो त हरेक क्षणलाई अनुभूति गर्ने, सम्झनामा सजाउने एउटा सुन्दर अवसर बन्न गइरहेको थियो।
हाम्रो ३५ जनाको टोली—रोटरियनहरू र उहाँहरूको परिवार—एक प्रकारले सानो परिवारजस्तै बनिसकेको थियो। बस अगाडि बढ्दै जाँदा हाँसो, ठट्टा, र महोहरी थापा सरको गीतले वातावरणलाई झनै जीवन्त बनाइरहेको थियो। यात्रा सुरु गरियो सूर्यविनायकको दर्शनबाट, जहाँ पुग्दा मन एकाएक शान्त र पवित्र भएको अनुभूति भयो। त्यहीँबाट हाम्रो दिनको वास्तविक यात्रा सुरु भएको थियो ।
रानीकोटको डाँडामा अवस्थित भिलेज हाइल्यान्ड रिसोर्ट पुग्दा, आँखाअघि फैलिएको दृश्यले केही क्षणका लागि सबैलाई आनन्दित बनायो। हरियाली, खुला आकाश, र टाढासम्म फैलिएको काठमाडौं उपत्यकाको दृश्य—जसले मनलाई एक किसिमको सान्त्वना र आनन्द दियो। शनिबारको दिन भएकाले अलि भीडभाड भए पनि, त्यसले हाम्रो रमाइलोमा कुनै कमी ल्याएन। स्वादिलो खानपान, चिसो हावाको स्पर्श, र डाँडामा स्वतन्त्र रूपमा घुम्ने अनुभवले सबैको मन रमाएको मैले महसुस गरेकोको थिए ।
रिसोर्ट नजिकै रहेको बाघको आकृतिमा प्राकृतिक रूपमा बनेको बाघ भैरव मन्दिर पुग्दा, त्यहाँको शान्त वातावरणले मन झनै तान्यो। मन्दिर प्राङ्गणमा बसेर गरिएको भजन–कीर्तनले एक किसिमको आध्यात्मिक ऊर्जा दिएको महसुस भयो। त्यहीँ डा हरी कृष्ण बस्कोटा सरले एउटा खेल खेलाउदा सबैको मन प्रफुल्लित नै बन्यो ।
दिनभरि हामी कसैले फोटो खिच्दै, कसैले भिडियो बनाउँदै, कसैले केवल दृश्यमा हराउँदै बितायौं। साथीभाइसँगको भलाकुसारी, पुराना सम्झनाहरू, र नयाँ हाँसोले समय कसरी बित्यो भन्ने पत्तै भएन।
साँझ पर्दै जाँदा, रमाइलोको अर्को अध्याय सुरु भयो—ट्यालेन्ट शो। त्यो कार्यक्रम कुनै औपचारिक प्रस्तुति जस्तो थिएन, बरु प्रत्येकको मनको खुसी बाहिर ल्याउने माध्यम बनेको थियो। कसैले गीत गाए, कसैले नाचे, कसैले गजल र मुक्तक सुनाए, त कसैले जोक सुनाएर सबैलाई हसाए। त्यहीबीचमा गरिएको चिट्ठा कार्यक्रमले उत्सुकता बढायो । अझ अर्गानिक तरकारीको सन्त्वना पुरस्कारले हललाई निकै रमाइलो तथा अबस्मरणिय क्षेण बनाएको थियो ।
कार्यक्रमको सञ्चालन टेलिभिजनकर्मी तथा रोटरियन मनोहरी थापा सरले गर्नु भएको थियो। उहाँको शैली, सहजता र हास्यले कार्यक्रमलाई झनै रोचक बनायो। त्यसमाथि रोटरियन तथा स्पाउसहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त र आत्मीय बनायो।
रमाइलो यति गरिएछ कि समयको ख्याल नै रहेन। हाँसो, तालि, गीत र उत्साहबीच कहिले रातिको ९ बज्यो, कसैले थाहा पाएन। त्यो दिन केवल एउटा कार्यक्रम मात्र थिएन—त्यो त सम्बन्धहरू अझ नजिक बनाउने, मनलाई हलुका बनाउने, र जीवनका सुन्दर क्षणहरू सँगाल्ने एक अविस्मरणीय अनुभव बन्यो।
Comments
Post a Comment